
काठमाडौं, ६ मंसिर । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित बर्गको उत्थानका लागि सामर्थ्यको संघर्ष आवश्यक रहेको बताएका छन् ।
आज सोमबार नेपाल पत्रकार महासंघ, केन्द्रीय दलित विभागको आयोजनामा भएको दलित पत्रकारको अवस्था र चुनौती विषयक कार्यक्रममा अध्यक्ष विश्वकर्माले सो कुरा बताएका हुन् । दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न उनले पत्रकारहरूलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अन्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरू एकजुट भएर अघि बढ्न आग्रह गरिन् । उनले कुनै पनि विषयलाइ उठान गरेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै पत्रकारितमार्फत निरन्तरता दिन पत्रकारहरूलाइ आग्रह गरेकी हुन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले दलित पत्रकारको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि महासंघ तयार रहेको बताएका छन् । दलित पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघ तत्पर रहेको भन्दै उनले त्यसका लागि सम्बन्धित संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासंगको अन्तरक्रियामार्फत अघि बढ्ने बताए भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले सञ्चारगृहमा दलित पत्रकारको समानुपाति सहभागित हुनुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै पत्रकार बाबुराम विश्वकर्माले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रूपमा नलिनेगरेको बताएका छन् । उनले दलितमाथि समुदायका सबै क्षत्रमा विभेद कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी अभियन्ता जेवी विश्वकर्माले दलित पत्रकार भएकै कारण सञ्चारगृहमा समेत विभेद कायम रहेको बताए ।
राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरूको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए भने क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारहरूले जातीय विभेद सहनु परेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले दलित पत्रकारको समस्या पहिचान गरी समाधनका बारेमा कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा दलित समुदायका पत्रकारहरूको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू र दलित समुदायका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।















प्रतिक्रिया