
सिमकोट, ४ मंसिर । हुम्लाका पत्रकार नन्दबहादुर ऐडीको निधन भएको छ ।
कलेजो र मृगौलासम्बन्धी रोगले ग्रस्त ऐडीको उपचारको क्रममा आज शनिबार काठमाडौँको सुमेरु अस्पतालमा निधन भएको हो । उनको दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिँदै आएको थियो ।
उनी हेपाटाइटिस बीका समेत पीडित थिए । ३० वर्षका युवा पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवम् प्रधानसम्पादक थिए ।
स्वर्गीय पत्रकार ऐडीका श्रीमती, दुई छोरी र एक छोरा छन् । अर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो । पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा आर्थिक सहयोगसमेत सङ्कलन गरिएको थियो ।
पत्रकार महासंघ हुम्ला शाखाले उनको उपचारका लागि एक लाख २२ हजार रुपैयाँ संकलन गरेको थियो । हुम्लाको सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा ऐडी पत्रकार महासंघ हुम्ला शाखाका सदस्यसमेत थिए ।















प्रतिक्रिया