
दोलखा, ३ मंसिर । सामान्य हिडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेका नेकपा एमाले दोलखा जिल्ला किमिटी सदस्य भाजु थामी पछिल्लो केही दिनयता आफैं हिडडुल गर्न सक्ने भएका छन् ।
पछिल्लो तीन महिनादेखि काठमाडौंको नयाँ बानेश्वरस्थित हिमालयन योग तथा प्राकृतिक अस्पतालमा उपचाररत थामी कात्तिक ३० गते डिस्चार्ज भएर गृहजिल्ला दोलखा आएका छन् । अहिले उनी आफ्नो सामान्य दैनिक क्रियाकलाप आफैं गर्न थालेको उनका छोरा विक्रम थामीले जानकारी दिए ।
पछिल्लोपटक लामो समय उपचारका क्रममा करिब ४ लाख रूपैयाँ खर्च भएको र अधिकांश खर्च नेकपा एमालेसम्बद्ध नेता–कार्यकर्ताहरूले व्यवस्थापन गरेको विक्रमको भनाइ छ । आर्थिक रूपमा अत्यन्त कमजोर परिवारका थामीको उपचारका लागि प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश सदस्य एवम् उद्योगी बालकृष्ण शिबाकोटी, नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्च, बिगु–काठमाडौं सम्पर्क मञ्चलगायतमा सम्बद्ध नेता–कार्यकर्ताहरू अग्रपङ्क्तिमा जुटेका थिए ।
साथै जिल्लामा क्रियाशील नेपाली काङ्ग्रेस र नेकपा माओवादीसहित दलका केही नेताहरू र विभिन्न संघसंस्था तथा चर्चित कार्यक्रम इन्द्रेणीबाट समेत थामीले केही सहयोग प्राप्त गरेका थिए । तुलनात्मक रूपमा धेरै सहयोग रकम भाजु संलग्न पार्टी नेकपा एमालेका नेता–कार्यकर्ताले जुटाएको विक्रमको भनाइ छ । उनका अनुसार पूर्वमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश सदस्य बालकृष्ण शिबाकोटी, जिल्ला कमिटी दोलखा र सम्पर्क मञ्चलगायतले मात्रै २ लाख ४० हजार रूपैयाँ सङ्कलन गरेका थिए ।
पूर्वमन्त्री पार्वत गुरुङले मात्रै व्यक्तिगत रूपमा १ लाख ८ हजार रूपैयाँ, बालकृष्ण शिबाकोटीले ५७ हजार रूपैयाँ सहयोग गरेको उनको भनाइ छ । ‘बुबा (भाजु थामी)को उपचारमा करिब ४ लाख रूपैयाँ खर्च भएको छ । त्यसमध्ये १ लाखको हाराहारीमा हामीले घरबाट पैसा खोजेर खर्च गरेका छौं । बाँकी सबै खर्च सहयोगबाटै जुटेको हो,’ विक्रमले भने, ‘माननीय पार्वत गुरुङले १ हजार ८ हजार रूपैयाँ र बालकृष्ण शिबाकोटीले ७५ हजार रूपैयाँ बुबा डिस्चार्ज हुने अघिल्लो दिन अस्पतालमै पुगेर दिनुभयो, भोलिपल्ट हामी डिस्चार्ज भयौं ।’

‘पूर्वमन्त्री गुरुङको साथमा सहयोग रकम जुटाउन क्रियाशील काठमाडौं सम्पर्क मञ्चका नेताहरू गणेश शिबाकोटी, ओमकृष्ण आचार्य र केशव आचार्यलगायत पनि आउनुभएको थियो । उहाँहरू सबैप्रति हार्दिक धन्यवाद दिन चाहान्छु,’ विक्रमले भने ।
गएको स्थानीय तह निर्वाचनमा दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुको वडाअध्यक्षका उम्मेदवार समेत रहेका नेता थामी करिब २ वर्षअघि गाउँमै लडेर गम्भीर घाइते भएका थिए । घाइते थामीको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया गरी उपचार गरिएको थियो । तर, उपचारपछि उनको नसामा समस्या देखिएर हात र खुट्टा दुबै नचल्ने अवस्थामा पुगेको थियो । बारम्बार औषधि सेवन गर्दा पनि समस्या समाधान नभएपछि थामी तीन महिनाअघि उपचारका लागि काठमाडौं गएका थिए ।
हिमालयन योग तथा प्राकृतिक अस्पतालमा तीन महिनाको प्राकृतिक उपचारपछि अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको छोरा विक्रमको भनाइ छ । हिमालयन योग तथा प्राकृतिक अस्पतालमा डा. यञ्जन गैरेले उनको उपचार गरेका थिए । हिमालयनमा योग, प्राकृतिक चिकित्सा, फिजियोथेरापी, अकुपंचरलगायत विधिद्वारा विभिन्न रोगको उपचार गरिँदै आएको अस्पतालको भनाइ छ ।















प्रतिक्रिया