न्युयोर्क, ३ मंसिर । अमेरिकामा जथाभाबी औषधि खाएका कारण एक वर्षमा एक लाखभन्दा धेरैको मृत्यु भएको छ ।
अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरूको ज्यान गएको स्वास्थ्य अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञको भनाइ छ ।
अमेरिकामा सन् २०२० अप्रिलदेखि सन् २०२१ अप्रिलसम्मको एक वर्षको अवधिमा एक लाख तीन सय ६ जनाको औषधिको बढी प्रयोग अर्थात ओभर डोजका कारण ज्यान गएको छ ।
अमेरिकामा हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभर डोजका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्दै गर्दा औषधिको ओभर डोजविरुद्धका कदम चाल्न पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
अमेरिकी स्वास्थ्यमन्त्री जाभियर बेसिराले यो सङ्कट निकै संवेदनशील क्षणमा पुगिसकेको र सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी औषधि नियामक निकायले लागूपदार्थ मिसाइएका औषधि अनलाइनबाट बिक्री भइरहेको भन्दै सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।
चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट यस्ता औषधि मेक्सिकोमा उत्पादन हुँदै आएको अमेरिकी स्वास्थ्य अधिकारीको भनाइ छ । यी नक्कली औषधिका चक्कीहरू ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध छन् ।















प्रतिक्रिया