न्युयोर्क, ३० कात्तिक । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त भएको छ । त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन् । त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन् ।
अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, ‘रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भू–उपग्रहमाथि एउटा एन्टी–स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको छ ।’
उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताए ।
ती अवशेषहरूका कारण सबै देशहरूलाई अहित हुने उनको भनाइ छ । रुसी अन्तरिक्ष एजेन्सीले चाहिँ उक्त घटनालाई कम महत्त्वपूर्ण भनेको छ । उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्यहरू सुरक्षित स्थानमा सरेको बताएको छ ।
अवशेषहरू कुनै पनि घटनाविनै पार भए पनि अहिले त्यसले विवाद निम्त्याएको हो । ती अवशेषहरू रुसी भू(उपग्रह कोस्मोस्(१४०८ बाट आएका जस्तो देखिएको छ ।
उक्त जासुसी भू(उपग्रह सन् १९८२ मा अन्तरिक्षमा पठाइएको थियो र त्यसको तौल एक टनभन्दा बढी थियो । तर उसले केही वर्षअघि नै काम गर्न बन्द गरेको थियो । बीबीसी















प्रतिक्रिया