काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले एमआरपी राहदानी बारे कूटनीतिक समुदायका पदाधिकारीहरूसँग छलफल गरेको छ ।
सन् २०१५ को नोभेम्बर २४ सम्ममा हस्तलिखित राहदानीलाई एमआरपीले विस्थापन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रावधानका सन्दर्भमा विभागले अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको हो ।
छलफलमा विभागका महानिर्देशक समेशप्रसाद खनालले संगठनको प्रावधानअनुसार सबै नेपालीलाई निर्धारित मितिभित्रै एमआरपी वितरण गर्न विभाग सक्षम रहेको जानकारी दिँदै एमआरपीका लागि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले एमआरपी उत्पादन, वितरण र प्रवाहबारे जानकारी दिँदै विगतको तुलनामा सेवाग्राहीलाई सहज एवम् सरलरूपमा राहदानी उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो ।
छलफलमा एमआरपी छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी आबेर्थरका स्थानीय प्रतिनिधि सिद्धार्थराज पाण्डेले नेपालको एमआरपीका सुरक्षा विशेषताबारे जानकारी गराउनुभएको थियो । छलफलमा कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय आप्रवास संगठनका प्रतिनिधि, नेपाल सरकारका सम्बन्धित मन्त्रालय र विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।














प्रतिक्रिया