मार्तडी, २६ कात्तिक । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ ।
जीप व्यवसायीहरूले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीहरुको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीहरूसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।
पूर्वी तथा उत्तरी भेगका कोल्टी–मार्तडीमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको प्रतिकिलोमिटर रु.१८ का दरले रु. ७५० भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।
कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीसाधनले प्रतिकिलोमिटर रु. १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।
साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन, पेट्रोल, डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु.१५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको छ ।
















प्रतिक्रिया