काठमाडौं, २५ कात्तिक । क्रियाशील सदस्यताको विषयलाई लिएर बाँके कांग्रेसमा विवाद देखिएको छ ।
कात्तिक २७ गतेका लागि वडा अधिवेशन तोकिएको छ । अधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतामा विवाद देखा परेका हुन् ।
जिल्लाबाट पठाइएकोभन्दा फरक क्रियाशील सदस्यता सूची पुगेको भन्दै विवाद भएको छ ।
निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले कात्तिक २३ मा जिल्ला सभापति किरण कोइरालालाई हस्तान्तरण गरेको तीनवटै क्षेत्रको क्रियाशील सदस्यता सूचीभन्दा फरक सूची बाहिरिएपछि त्यसलाई लिएर विवाद भएको छ ।
बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले दुई सय ३९ जनाको फर्जी क्रियाशील सदस्यताको सूची निकालेको भन्दै विवाद भइरहेको छ ।
केन्द्रबाट नै क्रियाशील सदस्यता सूची थप भएको आशंका गरिएको छ । सभापति कोइरालासहितले निर्वाचन समिति कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्ला सभापति कोइरालाले केही समस्या देखा परे पनि कात्तिक २७ मा वडा अधिवेशन हुने बताइन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले केन्द्रबाटै क्रियाशीलको नाम थप गरेकोमा संस्थापनइतर समूहले विरोध गरेका छन् ।











प्रतिक्रिया