३ कार्तिक २०८३, मंगलबार

मलाला युशुफजाइले विवाह गरिन्

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ कात्तिक । नोबेल शान्ति पुरस्कार विजेता मलाला युशुफजाइ विवाह बन्धन बाँधिएकी छिन् । मलालाले असर मलिकसँग इस्लामिक परम्पराअनुसार बेलायतको बर्मिङ्घममा विवाह गरेकी हुन् ।

मलालासँग असरले निकाह गरेका हुन् । निकाहमा बेहुली र बेहुलाले विवाह स्वीकार गर्ने इस्लामिक परम्परा रहेको छ । २४ वर्षकी महिला अधिकार अभियन्ता मलालाले निकाहलाई आफ्नो जीवनको अनमोल दिन भनेकी छिन् ।

सन् २०१२ मा बालिका शिक्षाको पक्षमा गरेको वकालतकै कारण तालिबानले उनीमाथि आक्रमण गरेको थियो । टाउकोमा गोली लागेर पनि बाँच्न सफल भएकी मलालाले बालिका शिक्षा र महिला अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आएकी छिन् ।

आक्रमणपश्चात उनी परिवारसहित बेलायतको वेस्ट मिडल्याण्डमा शरण लिएर बस्दै आएकी छिन् ।

मलालाले मंगलबार ट्वीट गरेर निकाहबारे जानकारी दिएकी छिन् । उनले लेखेकी छन्, ‘असर र म जीवनसाथीका रुपमा बाँधिएका छौँ । हामीले परिवारका साथमा सानो आकारको निकाह समारोह गरेका हौँ ।’

उनले भनेकी छिन्, ‘अबको यात्रा सँगै गर्नका लागि हामी उत्साहित छौँ ।’ मलालले १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।

उनी सो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । मलालाले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् ।

इस्लामिक परम्पराअनुसार निकाह कानूनी रुपमा बाध्यकारी नभए पनि विवाहको पहिलो खुड्किलो मानिन्छ । बिदाइका लागि अर्को समारोह आयोजना गरिन्छ । मलालाले यसबारे केही जानकारी दिएकी छैनिन् ।

मलालाले यसअघि विवाहलाई लिएर सन्देह व्यक्त गर्ने गरेकी थिइन् । उनले गएको जुलाईमा मात्रै भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा मानिसहरू किन विवाह गर्छन् भन्ने आफूले अझै नबुझेको बताएकी थिइन् ।