३ कार्तिक २०८३, मंगलबार

बाइडेनद्वारा चीन र रुसका नेताको आलोचना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १७ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् ।

मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु ूएउटा ठूलो मुद्दाू भएको र चीन त्यसबाट ूटाढिएकोू बताएका हुन् । उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए ।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन् ।

विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन् ।

देशहरूले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन् । वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन् ।

बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए ।

अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गरेका हुन् ।

चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले ूठूलो गल्तीू भनेका छन् । उनले भने, ‘चीनले विश्व नेताका रुपमा विश्वमा आफ्नो नयाँ भूमिका रहेको देखाउन खोजिरहेको छ र यहाँ भने देखाएको छैन।’

बाइडनले पुटिनबारे पनि त्यस्तै धारणा राख्दै रुसको जङ्गल क्षेत्र डढिरहेको र त्यहाँका राष्ट्रपति त्यस्तो मुद्दाबारे मौन बसेको आरोप लगाए ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति किन उपस्थित हुन सक्दैनन् भन्नेबारे कुनै कारण दिएनन् ।

उपस्थितिबारे गत अक्टोबरमा घोषणा गर्दै पेस्कोभले जलवायु परिवर्तन रुसको ूमहत्त्वपूर्णू प्राथमकितामा रहेको बताएका थिए ।

अक्टोबर महिनामा नै अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित नहुने ठानिएकोबारे यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई सचेत गराएका थिए ।

सन् २०२० को सुरुदेखि नै राष्ट्रपति सी चीनबाट बाहिर कतै नगएको ठानिएको छ । गत सेप्टेम्बरमा राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल अर्थात् जति कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ त्यतिनै मात्रामा कार्बनडाइअक्साइड वातावरणबाट सोस्ने अवस्थामा चीनलाई पुर्‍याउने घोषणा गरेका थिए ।

राष्ट्रपति पुटिनले पनि अक्टोबर १३ मा भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रुस सन् २०६० भन्दा ढिला नगरी कार्बन न्यूट्रलको अवस्थामा पुग्ने बताएका थिए ।

नेट जिरो अर्थात् कार्बन न्यूट्रल बन्नुको अर्थ वायु मण्डलमा हरित गृह ग्यासको मात्रा नथप्नु भन्ने हो । बीबीसी