न्युयोर्क, १० कात्तिक । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ ।
त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए)का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो ।
सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो । अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो ।
हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् । अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले थप अनुमति दिनुपर्छ ।
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ ।
एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए । ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ ।
नियामकहरूले बालबालिका खोप लगाएपछि मुटुमा जलन हुने सम्भावना कति रहन्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । फाइजर र मोर्डनाका खोपहरूले मुटुमा जलन हुने एउटा अति दुर्लभ सम्भावना पनि देखाउँछ ।
अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ । देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७४०,००० को मृत्यु भएको तथ्याङ्क छ ।
लाखौँ मानिसहरू सङ्क्रमित भएका छन् र हजारौँलाई अस्पतालमा भर्ना हुनुपरेको थियो । तीमध्ये ५,००० भन्दा बढी बिरामीमा जलन हुने एउटा दुर्लभ समस्या देखिएको थियो जसका कारण अमेरिकामा ४६ बालबालिकाको मृत्यु भएको थियो ।
यसैबीच यूकेले भने १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप दिन भर्खरै सुरु गरेको छ । त्यहाँका प्रमुख मेडिकल अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन सुझाएका छन् । यसको मापदण्ड अन्य देशमा फरक फरक छ ।
बीबीसीकी स्वास्थ्य सम्पादक मिसेल रोबर्टस्ले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिने निर्णय ऐतिहासिक भएको भन्दै यो अभ्यासले केवल अमेरिकालाई मात्रै नभई अन्य देशहरूलाई पनि प्रभाव पार्ने बताएकी छन् । बीबीसी















प्रतिक्रिया