भीमदत्तनगर, २९ चैत । विभिन्न पक्षमा देखिएको सुधारसँगै कञ्चनपुर भन्सार कार्यालयको राजस्वमा समेत वृद्धि भएको छ ।
चालु आर्थिक वर्षमा रु १० करोड ३२ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव सकिन तीन महिना अगावै लक्ष्य हासिल गरेको छ ।
“हाम्रो लक्ष्य रु १० करोड ३२ लाख राजस्व सङ्कलन गर्ने थियो”, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्नुभयो, “अहिलेसम्मकै बढी राजस्व सङ्कलन भएको छ ।”
केही वर्षअघिसम्म रु तीन करोड वार्षिक लक्ष्य लिएर राजस्व सङ्कलनमा जुट्ने भन्सार कार्यालयले गरेको विविध सुधारका कारण राजस्वमा वृद्धि हुँदै गएको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ ।
“असारसम्म लक्ष्य हासिल गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “हामी चैत मसान्तभित्रै त्यो लक्ष्य हासिल गर्न सफल भएका छौँ”, भन्सार अधिकृत रेग्मीले शनिबारसम्म रु १० करोड २२ लाख राजस्व सङ्कलन भएको बताउनुभयो ।
“तीन दिनमा रु १० लाखभन्दा बढी राजस्वक सङ्कलन हुने निश्चित जस्तै छ” उहाँले भन्नुभयो । चैत महिनाको मासिक लक्ष्य ८९ लाख रहेको बताउँदै उहाँले यो महिनाको २८ दिनमा रु एक करोड १० लाख राजस्व सङ्कलन भएको रेग्मीले बताउनुभयो ।
“चोरीपैठारी नियन्त्रण तथा वयापारीलाई राजस्वको दायरामा ल्याएका कारण हामी लक्ष्य अगावै राजस्व उठाउन सफल भएका हाँै”, उहाँले भन्नुभयो, “पछिल्लोपटक पश्चिमी नाकामा राखिएका सिसिटिभी क्यामेराले पनि राजस्व वृद्धिमा सहयोग ग¥यो ।” भारतीय सीमावर्ती बजारबाट भन्सार नतिरी सामान ल्याउने प्रवृत्तिलाई नियन्त्रण गर्दा राजस्वमा सुधार आउँदै गरेको उहाँको भनाइ छ ।
“भारतबाट सामान ल्याउँदा घरका लागि, विवाह, व्रतबन्धका लागि हो भन्दै राजस्व नतिर्ने प्रवृत्ति रहेको छ”, रेग्मीले भन्नुभयो, “यहाँका व्यापारी तथा नागरिकलाई करको दायरामा ल्याउन निकै सङ्घर्ष गर्नुप¥यो ।” साइकलमा सामान ल्याउँदा भन्सार लिन पाइँदैन भनेर झगडा गर्न आउने गरेको उहाँले बताउनुभयो ।
“पछिल्लो समय राजस्व तिर्नुपर्दो रहेछ भन्ने चेतना बढेको छ” उहाँले भन्नुभयो । चालु आवभरि रु १३ करोडसम्म राजस्व सङ्कलन हुने रेग्मीको अनुमान छ । उहाँका अनुसार कञ्चनपुर भन्सार कार्यालयमा पछिल्ला तीन वर्षमा राजस्व सङ्कलन दर तेब्बरले वृद्धि भएको छ ।
“देशकै भन्सार कार्यालयमध्ये यो भन्सार १४÷१५औँ नम्बरमा पर्छ”, उहाँले भन्नुभयो, “यहाँको सबै पक्ष सुधार्नसके राजस्व वृद्धि तीव्र गतिले अघि बढ्छ ।” भन्सार कार्यालयको भौतिक संरचनाका साथै अन्य पक्षमा पनि सुधार भइरहेको उहाँले बताउनुभयो । रेग्मी कार्यालय प्रमुख भएर कञ्चनपुर आएपछि यहाँ कार्यालय भवन तथा स्टोर नयाँ बन्नुका साथै सवै भवन मर्मत सम्भारसमेत गरिएका छन् ।
अहिले भन्सार कार्यालयले मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरिरहेको छ । आव २०६९÷७० मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु तीन करोड ६३ लाख लिएको भन्सार कार्यालयले रु चार करोड २० लाख राजस्व सङ्कलन गरेको थियो ।
चौतर्फी खुला सिमानाका कारण भन्सार छलेर सामान भित्र्याउनेलाई पूर्णरुपले नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । यो नाका भएर कम्बल, कपास, लत्ताकपडा, दैनिक उपभोग्य सामान बढीमात्रामा आयात हुने गरेको छ । धानको भुस, गलँैचा, जडीबुटीलगायतका समान निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।
“वनबासा पुल कमजोर भएका कारण १० टन माथिका मालबाहक सवारी आवागमनको अनुमति छैन”, रेग्मीले भन्नुभयो । महाकालीमा पक्की पुल बने यहाँको राजस्व देशका अन्य भन्सार नाका सरह सङ्कलन हुने उहाँको भनाइ छ । रासस















प्रतिक्रिया