दार्चुला । गत असार पहिलो साता महाकालीमा आएको बाढीले बगाएको दार्चुलाको नेपाल–भारत जोड्ने जौलजिवी झुलुंगेपुल पुनः निर्माण हुन नसक्दा स्थानीय मारमा परेका छन् ।
दैनिक उपभोग्य सामान तथा सामान्य उपचारका लागिसमेत भारतीय बजार जौलजिवीमा आश्रित रहेका दार्चुलाका लेकम क्षेत्रका छवटा गाविसका मानिस जोखिमपूर्ण काठेपुलको सहारामा नदी पार गर्न बाध्य छन् ।
गत मंसिरमा जौलजिवीमा लाग्ने परम्परागत मेलालाई दृष्टिगत गर्दैै जिविस तथा गाविसको सहयोगमा काठेपुल निर्माण गरिएको हो तर बाढी आएको एक वर्ष बित्नै लाग्दासमेत पुल निर्माण नहुँदा स्थानीय मर्कामा परेका छन् ।
साथै गर्मीयाम सुरुसँगै दिन प्रतिदिन नदीमा पानीको सतह बढ्दै गइरहेकाले अबको केही दिनमै अस्थायी काठेपुलसमेत बग्ने तथा सदरमुकामसम्म पुग्नसमेत कठिन हुने स्थानीयको भनाइ छ ।
जौलजिवीमा पक्की पुल निर्माणका लागि सरकारले चार महिनाअघि नै स्थानीय विकास मन्त्रालयमार्फत बजेट निकासा गरी निर्माणका लागि टेन्डर खोली ठेकेदार कम्पनीलाई स्वीकृति दिइसकेको छ तर टेन्डर पास भएको महिनौँ बितिसक्दासमेत निर्माणमा ढिलाइ गरिँदा दैनिकी थप कष्टकर बन्ने स्थानीयवासीले बताएका छन् ।
निमित्त स्थानीय विकास अधिकारी मदनराज जोशीले पक्की पुल निर्माणका लागि टेन्डर पास भइसकेको तथा केही दिनमै निर्माण सुरु गरिने बताउनुभयो ।
बर्सातनजिकै आइसकेकाले तत्कालका लागि आधुनिक तुइन निर्माण गर्न वा उकुसम्म ट्र्याक खोलिएको सडकलाई सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । बर्सात आउन अब केही दिन मात्र रहेकाले स्थानीय बासिन्दाको समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायहरुले वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
(फाइल फोटो)














प्रतिक्रिया