काठमाडौं, २९ चैत । टेलिभिजनकर्मी रोहित भण्डारीको ‘सम्भव छ’ पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच मुख्य सचिव लिलामणि पौडेल सहित २३ जना व्यक्तित्वले पुस्तकको सामुहिक लोकार्पण गरेका हुन् ।
प्रगति र उन्नतिका लागि विदेश गइरहनु पर्दैन नेपालमा नै सम्भव छ भन्ने सन्देश दिने उदेश्यका साथ लेखिएको पुस्तकमा २३ जना प्रेरक व्यक्तित्वका संघर्ष र सफलताका कथा समेटिएको छ ।
पूर्वसचिव कृष्णहरी बाँस्कोटा, समता शिक्षा निकेतनका उत्तम सञ्जेल, ग्लोबल आइएमई बैंकका चन्द्र ढकाल, निर्यात व्यवसायि डिल्ली तुलाधर, लगायत २३ जना पात्रका विषयमा लेखिएको पुस्तक पठनिय रहेको बताइएको छ ।
पुस्तकमा भण्डारीले कपाल काटेरै महिनामा एकलाख रुपैंयाँभन्दा बढी कमाई गरिरहेका राजाराम नापितदेखि स्नातक सकेपछि कबाडी व्यवसायमा हात हालेका रामहिरा पाठकसम्म कथा लेखेका छन् ।
मासिक एक लाख रुपैंयाँको जागिर छोडेर गाईपालनमा लागेका इन्जिनियर श्यामबदन यादव, ६० रुपैंयाँबाट व्यवसाय शुरु गरेका श्रेष्ठ टेलरिङका बाबुकाजी श्रेष्ठ लगायतका कथाले जो कोहीमा पनि उर्जा भर्ने लेखक भण्डारीको दाबी छ ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै मुख्य सचिव लिलामणि पौडेलले नेपालमा केही हुँदैन, केही गर्न सकिदैन भन्ने निराशा छाइरहेका बेला ‘सम्भव छ’ पुस्तक सार्वजनिक हुनु महत्वपूर्ण रहेको बताए । पढ्नैपर्ने पुस्तक मध्येको एउटा पुस्तकका रुपमा आफूले ‘सम्भव छ’ लाई पाएको उनको भनाई थियो ।















प्रतिक्रिया