
काठमाडौँ, ३ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार आलोचना गर्न पनि लायक नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचना गर्न पनि लायक नरहेको बताएका हुन् । देउवा सरकारको १०० दिनको अवधिमा ओलीले वुधबार काठमाडौँमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटनमा यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार कसले चलाएको पनि भन्न नसकिने अवस्था रहेको बताए ।
‘अहिलेको सरकार एक खालको नायवीद्वार चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन’, ओलीले भने, ‘यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ ।’
उनले थपे, ‘साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन कि ? पर्दा पछाडिकाले चलाएका छन कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’
देशलाई निर्वाचनबाट एमालेको विजय चाहिएको ओलीले बताए । उनले भने, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छदै छैन ।’
त्यस्तै, ओलीले नेकपा एकिकृत समाजवादीलाई जनताले चुनावबाट पराजित गरिदिने पनि बताए । उनले भने, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होईन ? हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन् । के–के आरोप छ, तपाई हामी जम्मै सुनि राखेका छौं ।’












प्रतिक्रिया