मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

‘को–हजबेण्ड’ले युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा जित्यो अवार्ड

दैनिक नेपाल २०७८ कार्तिक १ गते २०:१५

काठमाडौँ, १ कात्तिक । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जित्न सफल भएको छ ।

स्लोभाकियाको पोपरोडमा आयोजित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अनरेवल मेन्सन अवार्ड जितेको हो । पोपराडमा आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड ग्रहण गरेका थिए ।

अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए । फिल्म महोत्सवमा १७ वटा देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

‘बिभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुशी लागेको छु, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ’– निर्देशक पाण्डेले भने ।

यसअघि गत बर्ष रसियामा आयोजित १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबल (19th International Kansk Video Festival) मा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान’को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो ।

‘सहायक श्रीमान’ अक्टोबर २३ तारिख अमेरिकाको सियाटलस्थित तस्वीर साउथ एशियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ ।

बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) निर्माण गरेर डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड बिजेता निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ पनि बिभिन्न देशका चलचित्र महोत्सवमा छनौट भइरहेको छ ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

Trailer: https://youtu.be/r1e0nIOJOBo

Viber/WhatsApp: 9851079795

प्रतिक्रिया
सम्बन्धित