खोटाङ । गणतन्त्र दिवसका अवसरमा खोटाङमा अहिलेसम्मकै ठूलो धनराशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
कर्मचारीको आन्दोलनमा सहभागिता जनाउने क्रममा २३ वर्षअघि ज्यान गुमाएका सदरमुकाम दिक्तेलका मनोज जोशीको स्मरणमा दिक्तेलमा बुधबारदेखि सहिद मनोज जोशी स्मृति प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो ।
सहिदको सम्मान गर्दै खेलमैदान निर्माणका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक कुमार आचार्यले जानकारी दिनुभयो । मनोज जोशी स्मृति प्रतिष्ठान र रुपाकोट फुटबल क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिता पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष किरण राईले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११, उपविजेताले ६६ हजार ६६६, तेस्रो हुनेले ३३ हजार ३३३ र सान्त्वनाले ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै अन्य विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुले पनि पाँच हजार ५५५ का दरले पुरस्कार पाउने आयोजक समितिका सचिव दिलीप तामाङले बताउनुभयो ।
‘श्रदाका फूलहरु सहिद मनोजप्रति अर्पण, खेलमैदान निर्माणमा हरेक गोल समर्पण’ भन्ने नाराका साथ सुरु गरिएको प्रतियोगितामा दुर्छिम, बाम्राङ, हौंचुर, दिक्तेलको सोल्मा, जबरजङ् गण, दिक्तेल इङग्लिस बोर्डिङ स्कुल, रतन्छा, खार्मी, दोर्पाचिउरीडाँडा, जालपा, दिक्तेलबजार सामाजिक गुठी लगायतका १४ टोलीको सहभागिता छ ।
सचिव तामाङका अनुसार खेलको विकास, सहिद मनोजको स्मरण, माटिकोरे खेलमैदानको मर्मत गर्दै युवाहरुको एकता र आत्मीयताको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।












प्रतिक्रिया