
बागलुङ, २६ असोज । नेकपा एमालेले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियान अन्तरगत बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेश बागलुङमा अखिल नेपाल महिला संघको भेला सम्पन्न भएको छ ।
भेलाले कविता थापा (सिता) को अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटि रेश गठन गरेको छ । कमिटिको उपाध्यक्षमा उजेली शर्मा, सचिवमा उषा थापा र उपसचिव लक्ष्मी कुँवर रहेकी छन् ।
नव गठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य हुमा कुमारी जिसी (अञ्जु) ले सपथ ग्रहण गराएकी थिइन् ।
सो अवसरमा उनले महिलाहरुलाई राजनीतिक क्षेत्रमा सक्रिय बनाउदै उनीहरुको क्षमता विकास र नेतृत्व विकासका क्षेत्रमा अगडि बढाउनु पर्नेमा जोड दिइन् ।
नेकपा एमाले महिला लगायत पछाडि परेका व्यक्ति तथा समुदायलाई आर्थिक सामाजिक रुपमा संगठित गर्ने, जिम्मेवारी दिने विषयमा अग्रस्थानमा रहेको चर्चा गर्दै उनले एमाले सम्बद्ध अखिल नेपाल महिला संघमा आवद्ध भएर महिलाको शसक्तिकरणमा क्रियाशिल हुन सबैलाई आव्हान गरिन् ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका वडा नं. ७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले महिलाहरुलाई समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल बनाउनका लागि राजनीतिक नेतृत्वमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।
उनले महिला र पुरुष सँगसँगै हातेमालो गरेर काम गरेमा मात्रै समाजको रुपान्तरण छिटो हुने भएकाले महिलाहरु राजनीतिक रुपमा सचेत भएर अगाडि बढ्नु पर्ने बताए ।
नेकपा एमाले वडा कमिटिका अध्यक्ष तोप बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सदस्य नन्दकली कुँवर लगायतले शुभकामना दिएका थिए ।
नेकपा एमालेले आगामी कात्तिक ६ गते देशैभरीका वडा कमिटि र ९ गते सबै पालिकामा अधिवेशन गर्ने भएको छ । वडा अधिवेशनको तयारी स्वरुप महिला, युवा, विद्यार्थी लगायत पार्टीसंग सम्बन्धित जनसंगठनहरुको वडा भेला सम्पन्न गर्ने तयारी रहेको एमाले रेशका अध्यक्ष तोप बहादुर कार्कीले जानकारी दिए ।












प्रतिक्रिया