काठमाडौं, २५ असोज । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ ।
आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १–० गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो ।
भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए ।
त्यसअघि नेपालका कप्तान किरणकुमार लिम्बुले भारतका मनवीर सिंहको हेडरलाई उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए ।
पहिलो हाफमा भने सुनीलले पाएको सुन्दर मौका खेर फालेका थिए । सिक्स यार्ड बक्सबाट हानेको उनको प्रहार थोरैले आउट भएको थियो ।
जारी साफमा भारतको यो पहिलो जित हो । यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए ।
नेपालको भने यो पहिलो हार हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।
साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ ।
भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको बंगलादेशको ४ अंक छ। १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ ।
अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ । नेपालले फाइनलमा स्थान बनाउन कम्तिमा बराबरी खेल्नु पर्नेछ ।















प्रतिक्रिया