१३ कार्तिक २०८३, शुक्रबार

बागलुङमा संविधानसभाको उपनिर्वाचन सम्पन्न, ७३ प्रतिशत मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-2

– रबिना बोहोरा
बागलुङ, २८ चैत । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा आज जारी संविधासभाको उप निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।

बागलुङमा पहिलो पटक विद्युतिय मतदान मेसिनबाट विहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चलेको थियो । यसपटक बागलुङको उपनिर्वाचनमा ३८ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले बताउनुभयो । संविधान सभाको दोस्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने ७३ प्रतिशत मात्र मतदान भएको उपाध्यायले बताउनुभयो ।

गत निर्वाचनमा ४७ हजार मतदाता रहेको र यसपटक ५२ हजार मतदाता हुँदा समेत मतदान कम हुनुमा मतदाता सूचीमा नाम भएका युवाहरु बैदेशिक रोजगारको लागि विदेश जानु र जिल्लाबाट अन्यत्र गएका व्यक्तिहरु नआएको कारण ३ प्रतिशत मत घटेको हुनसक्ने उपाध्यायले बताउनुभयो ।

बागलुङ नगरपालिका सहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका थिए ।

बागलुङ नगरपालिकामा १२ हजार मतदाता मध्ये ९ हजार र १९ वटा गाविस मध्ये सबैभन्दा बढी बिहुँ गाविसमा २ हजार ७ सय ६ र सबैभन्दा कम अर्गल गाविसमा ९ सय ४२ मत खसेको थियो ।

५२ हजार मतदाता रहेको बागलुङ क्षेत्र नं. १ को लागि यस उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व. हरि बहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मन कुमारी केसी., एमाओवादीबाट कृष्ण बहादुर के.सी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बहादुर बुढाथोकी लगायत १० राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, धाँधली रहित बनाउन सबै प्रकारका शान्ति सुरक्षाको प्रबन्ध मिलाएको थियो । यसपटकको उपनिर्वाचनको पर्यवेक्षण राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, नियोक लगायतका संघ संस्थाका प्रतिनिधिबाट पर्यवेक्षण गर्ने काम भएको थियो ।

नेकपा माओवादी बैद्य समूह, विप्लव समूह र नेकपा एकीकृतले उपनिर्वाचन बहिष्कारको घोषणा गरेपनि जिल्लामा कुनै अवान्छनिय घटना भने घटेन् ।

जिल्ला निर्वाचन कार्यालयले बागलुङको सबै मतदान केन्द्रको सबै विद्युतीय मतदान यन्त्र राति ११ बजेसम्म सदरमुकाम ल्याइने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयमा विद्युतीय मत पेटीका आउनेक्रम जारी छ ।