
काठमाडौँ । नेपाली कला जगतमा विगत चारवर्ष देखि विभिन्न गीति भिडियो र सन्देशमुलक लघुचलचित्रमा अभिनय गर्दै आएकी नवनायिका एवं मोडेल कृति गौतम पुनः म्युजिक भिडियो मार्फत् सपनाकी परीका रुपमा पर्दामा देखिएकी छन् ।
संगीत बजारमा एकपछि अर्को चर्चित गीत ल्याउन सफल लमजुङे सर्जक, गायक तथा मोडेल सागर बुढाथोकीले बजारमा ल्याईएको भावनात्मक–रोमान्टिक स्वादको आधुनिक गीतको म्युजिक भिडियोमा अभिनय गर्दै उनी पर्दामा देखिएकी हुन् ।
गायक बुढाथोकी आफैंले सृजना गरेको ’मेरो मनले तिम्लाई नै रोजे जस्तो भो, नजरले तिम्लाई नै खोजे जस्तो भो’ बोलको गीत मार्फत् नेपाली संगीत बजारमा भावनात्मक–रोमान्टिक बेसको नयाँ र फरक स्वाद पस्किएका छन् । उनी फरक भुगोल, फरक दृश्य, फरक गीतिस्वाद र नितान्त बेग्लै धारको कथावस्तु बुन्न सफल देखिएका छन् ।
म्युजिक भिडियो अनुसार गीतको कथावस्तुमा घुम्दैफिर्दै समुद्री सतहदेखि ४ हजार ९ सय १९ उचाईको संसारकै अग्लो स्थान रहेको मनाङको तिलिचो ताल पुगेको एक युवक(गायक स्वयं)ले प्राकृतिक सौन्दर्यतालाई क्यामेरामा कैद गर्न खोज्दा आफ्नो लेन्समा तालको वरीपरी रमाउँदै उफ्रिँदै गरेकी अप्सरा वा परी जस्तै युवतीलाई देख्छन् ।
युवतीको सुन्दरतामा मोहित भएका ति युवा उनलाई भेट्न पछ्याउँछन् तर युवती अकस्मात अलप हुन्छिन् र भेट्न सक्दैनन् । युवती भएको ठाउँमा पुग्दा एउटा सुनको वाला भेट्छन् र त्यसलाई लिएर उनी ति युवतीको आकृतिलाई पछ्याउँदै जान्छन् ।
छिनछिनमा देखापर्ने र एकैछिनमा अलप हुने ति युवती प्रतिको सम्मोहनले उनलाई राम्रै सँग सताउँछ र गीत मार्फत् आफ्ना भावना अभिव्यक्त गर्दै युवतीको पिछा गरिरहन्छन् ।
भौतिक रुपमा भेट्न नसकेकी ति युवतीसँग उनी भावनात्मक रुपमा गहिरो प्रेममा डुब्छन् र आफुभित्रको मनोवादलाई गीत मार्फत् व्यक्त गर्छन् ।
तिलिचो तालबाट सुरु भएको छायांकन तिलिचो बेसक्याम्प, खाङ्सार लगायतका रमणीय स्थलहरु र लमजुङको फलियासाँघुमा मर्स्याङ्दी नदी माथिको झोलुङ्गे पुलमा आएर सकिएको छ ।
हिउँको चिसो सिरेटोमा पातालो पोशाक र खालीखुट्टा अभिनय गर्नु पर्दाको कठिनाई सम्झिँदा अझैपनि कहाली लाग्ने मोडेल गौतम बताउँछिन् ।
त्यहाँसम्म पुग्दा र फर्किँदाको दुःख बेग्लै खालको भएपनि जीवनकै अविस्मरणीय र फरक खालको रोमाञ्चक अनुभव गर्न पाएकोमा खुशी लागेको उनको भनाई छ ।
एसईई परिक्षा पछिको खाली समयमा असारमा मनाङको चामेसम्म घुम्न गएको र त्यतिबेला अझैमाथि जानपाए हुन्थ्यो भन्ने लागेको बताउँदै सोहीवर्ष दशैंतिहार बिदामा म्युजिक भिडियोको अफर आएपछि तिलिचो सपना पुरा भएको उनी बताउँछिन् ।
संभवतः सानो उमेरमै ४,९१९ मिटर उचाईमा म्युजिकभिडियोमा अभिनय गर्ने मोडेलमा आफुमात्रै पर्न सक्ने दावा समेत उनले गरेकी छन् । उनले यसअघि हाम्रो आँखा कहिले खुल्छ लघुचलचित्र, कभर भिडियो र म्युजिक भिडियोमा अभिनय गरिसकेको बताएकी छन् ।

गायक बुढाथोकीको स्वर निकै जमेको छ भने गीतका शव्द, भाव र भौगोलिक परिवेशको संयोजन निकै उच्चकोटीको देखिएको छ ।
सुरेश अधिकारीको प्रोडक्सन र नविन अधिकारीको निर्देशन रहेको सो गीतमा गायक स्वयं र मोडेल कृति गौतमको अभिनयले गीतिभिडियोलाई अझै जीवन्त बनाएको छ ।
असोज महिनाको चिसोमा हिमालको काखमा छायांकन गर्दा हिउँको सिरेटो, जोखिमयुक्त र कठिन बाटो, तिलिचो तालको चिसो स्याँठको सामाना गर्न निकै कठिनाई भोग्नु परेको बुढाथोकीले बताए। सुटिङ टिम र सरसामान त्यो उचाईमा लैजान निकै गाह्रो परेको भएपनि नजिता राम्रो दिन सकेकोमा सन्तुष्टि मिलेको उनी बताउँछन् ।
गीतको ९५ प्रतिशत सुटिङ मनाङमै गरिएको बताईएको छ। तीनवर्ष अघि छायांकन गरिएको सो गीत निकै मेहनत पछि बजारमा ल्याएको उनको भनाई छ । मधुर आर्टको प्रस्तुति रहेको सो गीतमा शव्द/स्वर सागर बुढाथोकीको रहेको छ ।
कम्पोज एवं ऐरेञ्ज साहस शाक्यले गरेका छन् भने गिटारमा कोविद बज्र, बाँसुरीमा स्वर्णिम महर्जन, छायांकन तथा सम्पादन राजकुमार श्रेष्ठ, मिक्सिङ कोविद बज्र, रंग संयोजन शुभाष गर्तौलाको रहेको छ । गीत मधुर आर्टकै अफिसियल युट्युव च्यानल मार्फत् शनिबार सार्वजनिक भएको हो ।















प्रतिक्रिया