काठमाडौँ, २८ चैत । प्रेस चौतारी नेपालको मध्यमाञ्चल क्षेत्रीय भेलाले तत्काल राजनीतिक गतिरोध अन्त्य गरी संविधानसभाबाट पे्रसमैत्री संविधान जारी गर्न माग गरेको छ ।
चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा भेलाले उच्चस्तरीय मिडिया आयोग तत्काल गठन गर्न, साना लगानीबाट सञ्चालित संचारमाध्यमको आर्थिक अवस्था दयनीय रहेको हुँदा समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न तथा वर्गीकरणमा परिसकेका पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनबापतको रकम सहज रुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सोे माग गरेको जनाइएको छ ।
नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यतामा काभे्रको बनेपामा गए राति सम्पन्न भेलाले श्रमजीवी पत्रकारको हकहितका लागि बनेको श्रमजीवि पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न पनि पुनः माग गरेका छ ।
भेलाले चौतारी उदयपुर शाखाका कोषाध्यक्ष रामप्रसाद भट्टराई (सचिन) को मृत्यु रहस्यमय भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरी उहाँको परिवारलाई यथोचित क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
भेलाले देशभर सञ्चारकर्मीमाथि विभिन्न वहानामा आक्रमण भइरहेको हुँदा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, सरकारले ल्याउन लागेको सञ्चार नीति श्रमजीवी पत्रकारमैत्री बनाउन, काभे्र जिल्लाको पाँचखालमा सुख्खा बन्दरगाह निर्माण गर्ने कार्य यथाशीघ्र गर्न, जनतालाई सर्वसुलभ किसिमले सेवा प्रदान गर्न बिभिन्न जिल्लामा एकीकृत सेवा केन्द्र विस्तार गर्ने तथा समस्या भएका स्थानमा यथाशीघ्र उचित समाधान खोज्न सरकारसँग माग गरेको छ । रासस















प्रतिक्रिया