
काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन असोज १५ गतेबाट एक भव्य समारोहका बीच सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महाधिवेशनको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने प्रसिद्ध कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पनि गाइएको थियो । महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर गरेका थिए ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीप्रति महाधिवेशनको उद्घाटनका अवसरमा उच्च सम्मान तथा स्मरण गरिएको थियो । साथै, नवौं महाधिवेशनयता दिवंगत भएका पार्टीका नेताहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् ।
महाधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे ।
प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोलि बिहान ८ बजे सुरु हुने दोस्रो दिन दस्तावेजहरुमाथि समूहगत छलफल हुने कार्यक्रम रहेको भट्टराईले जानकारी दिएका छन् ।
उनले महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन गरिएको जनाएका छन् ।
यी कमिटीहरु गठन भएका छन्ः
१. अध्यक्ष मण्डल
अध्यक्षः केपी शर्मा ओली
सदस्यहरुः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा ।
२. प्रस्ताव मस्यौदा कमिटी
भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी ।
३. सुझाव अध्ययन कमिटी
शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे ।
४. बहस नोट कमिटी
मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर ।
५. प्रचार समन्वय कमिटी
योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा ।
महाधिवेशनमा कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको नेता भट्टराईले जनाएका छन् ।
















प्रतिक्रिया