
काठमाडौँ, ७ असोज । नेपाली काँग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
बिहीबार साँझ बसेको पदाधिकारी बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । दशैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।
काँग्रेसको ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ ।
सदस्यता विवाद नटुंगिएका डोल्पा र रसुवाको पनि दशैँ अघि नै सकिने दावी गरिएको छ ।
२१ जिल्लामा एक निर्वाचन क्षेत्र भएको जिल्लामा १५ गते सकिन्छ । १५ गतेदेखि २० गतेसम्म डोल्पा र रसुवामा पनि अधिवेशन सम्पन्न हुने बताइएको छ ।
त्यस्तै, ५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दशैँ र तिहारको बीचमा सकिने र पूर्वनिर्धारित अधिवेशनको तालिकामा आंशिक परिवर्तन हुने देखिएको छ ।
यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । उनका अनुसार प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ ।
त्यस्तै, पदाधिकारीबीचको छलफलले मंसिर ९ गतेदेखि १३ गतेको महाधिवेशनको मिति पनि सर्ने सम्भावना देखिएको बताइएको छ ।












प्रतिक्रिया