
काठमाडौँ, ५ असोज । गंगामाया अधिकारीले न्यायका लागि अपील गरेकी छन् ।
वुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो छोराको हत्याको पुनः अनुसन्धान गरेर सत्य तथा न्यायमा आफ्नो अधिकार सुनिश्चित गर्न अपील गरेकी छन् ।
विज्ञप्तिमा आफूले न्यायका लागि विगत १७ वर्षदेखि पीडादायी र कठिन यात्रा गरिरहेकी उल्लेख छ । आफ्नो पति पतिनन्द प्रसाद अधिकारीको सातौँ स्मृति दिवसका दिन गंगामायाले विज्ञप्ति निकालेर न्यायका लागि अपील गरेकी हुन् ।
आफूहरुले छोराको हत्याराको कारवाहीका लािग ३३४ दिनसम्म भोक हड्ताल गरेको र त्यही क्रममा राज्यले बेवास्ता गरेपछि पतिको मृत्यु भएको उल्लेख गर्दै अझैपनि न्यायको आश राखेर शान्तिपूर्ण तरिकाले न्याय मागिरहेको गंगामायाले जनाएकी छन् ।
आमरण अनसन आफूहरुको रहर नभएर जुनसुकै प्रयास गर्दा पनि सरकार पीडकलाई नै बचाउन अग्रसर भएपछि अन्तिम विकल्पका रुपमा आमरण अनसन रहेको गंगामायाले जनाएकी छन् ।
विज्ञप्तिमा उनले आफू अन्तर्राष्ट्रियस्तरमा न्यायका लागि गएको पनि जनाएकी छन् । जसमा आफूलाई सहयोग गर्ने कानुन व्यवसायी लगायतलाई धन्यवाद दिएकी छन् ।
त्यस्तै, उनले सरकार समक्ष ४ वटा माग राखेकी छन् । ति हुन्, क) स्वतन्त्र अनुसन्धान टोलीमार्फत मेरो छोराको हत्याको घटनालाई पुनः अनुसन्धान गर्न, ख) विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न, ग) म र मेरो परिवारलाई पुनःस्थापना गर्न र घ) संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी रुपमा परिवर्तन गर्न ।
यी मागलाई सरकारलाई पूरा गर्न उनको आग्रह छ । आफूले न्याय पाएपछि मात्रै पतिको शवको दाहसंस्कार गर्ने अठोटका साथ उनले अझै पनि शवगृहको बाकस नं. ४ मा शव राखिएको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा अधिकारी दम्पतीको छोरा १७ वर्षीय कृष्ण प्रसाद अधिकारीको हत्या भएको थियो ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठः
हजुरहरूलाई थाहै छ, न्यायका लागि मैले विगत १७वर्षदेखि पीडादायी र कठिन यात्रा गरिरहेकी छु । तर २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा मेरो निर्दोष १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीका हत्याराहरू अहिलेसम्म पनि स्वतन्त्र घुमिरहेका छन् । आज मेरा पतिनन्द प्रसाद अधिकारीको मृत्युको सातौं वार्षिकी परेको छ ।
मेरो छोराको हत्याको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान थाल्नका लागि हामीले ३३४ दिनसम्म भोक हडताल गरेको भएपनि राज्यले हामीलाई बेवास्ता गरेपछि मेरा पतिको मृत्यु हडतालका क्रममा अस्पतालमा भएको थियो । यस्तो अवस्था बेहोर्नुपरेको भएपनि म न्यायको आशा राखिरहेकी छु र शान्तिपूर्ण तरिकाले न्यायको माग गरिरहेकी छु । भोक हडताल हाम्रो रहर नभई बाध्यता थियो ।
मेरो छोराको हत्या गरिएपछि सरकारले कारवाही चलाउला र हाम्रो सत्य तथा न्यायको अधिकार सुनिश्चित गर्ला भन्ने आशाका साथ मेरा पति र मैले अनेकौँ ठाउँमा पुकारा गर्यौँ ।
नौ वर्षसम्म न्यायका लागि सबै कानूनी उपायहरू अपनाएको भएपनि हामीलाई न्यायबाट वञ्चित गरिएकाले मेरा पति र मैले आमरण अनशन शुरू गर्ने निर्णय लिएका थियौं । सरकारलाई दबाब दिने यो मात्र एक विकल्प बाँकी थियो ।
तर सत्याग्रहको ३३४ औं दिनमा मेरा पतिले न्याय नपाइकन अन्तिम सास फेर्छन् र यस कठिन यात्रामा मलाई एक्लै छाडिदिन्छन् भन्ने मलाई लागेको थिएन । पतिको मृत्युपछि म छियाछिया भएँ तर आफूलाई सम्हाल्दै मैले छोरा र पतिका लागि न्यायको लडाइँ जारी राखेकी छु ।
चितवन जिल्ला अदालतमा २०७० चैत १२ मा आरोपित व्यक्तिहरूका विरुद्ध अभियोग पत्र दायर गरिएपछि न्यायको आशा पलाएको थियो ।
तर प्रमाण संकलनमा समुचित प्रक्रिया तथा राजनीतिक इच्छाशक्तिको अभावका कारण आरोपितलाई कसूरदार साबित गर्न लगभग असम्भव रह्यो । मैले केही पनि गर्न सकिनँ । तर राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागि परेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु ।
धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन् । पीडितलाई भन्दा पनि पीडकलाई संरक्षण गर्न राज्यले चासो देखाएको सन्दर्भमा पीडकलाई न्यायको दायरामा ल्याउनका लागि समुचित अनुसन्धान नगरिरहेको अवस्थामा न्यायको सम्भावना कत्तिको छ ?
यत्तिका वर्षसम्म न्यायका लागि लडिरहेको अनि बदलामा सरकारी पक्षबाट झूटा आश्वासन तथा ढिलासुस्ती मात्र पाइरहेको अवस्थामा मैले आफूमाथिको यो अन्यायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने निर्णय लिएकी छु । त्यसैले मैले मेरा कानूनव्यवसायीहरू तथा एड्भोकेसी फोरम नेपाल (एएफ) लाई यस मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेकी छु । मेरा तर्फबाट संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति समक्ष मेरो छोराको हत्या तथा मेरा पतिको मृत्युका घटनाका विषयमा निवेदन दिने कानून व्यवसायी तथा एएफ प्रति म आभारी छु ।
निवेदनमा मैले नेपाल सरकारलाई देहायका सिफारिश गर्नका लागि मानवअधिकार समितिलाई आग्रह गरेकी छु: क) स्वतन्त्र अनुसन्धान टोलीमार्फत मेरो छोराको हत्याको घटनालाई पुनः अनुसन्धान गर्न, ख) विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न, ग) म र मेरो परिवारलाई पुनःस्थापना गर्न र घ) संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी रुपमा परिवर्तन गर्न । यस कदमले मेरो छोरा र पतिलाई न्याय दिलाउनका लागि थप सहज बनाउने आशा मैले लिएकी छु ।
छोरा र पति गुमाउनु पर्दाको पीडाले मेरो मुटु भरिएको छ र यो पीडा कहिले पनि हराउने वा कम हुने देखिँदैन । तर यस पीडासँगै ममा दह्रो अठोट पनि छ । आशाको सानो झिल्कोले मलाई न्याय प्राप्तिका लागि यी थप कदमहरू चाल्न प्रेरित गरेको छ । मेरा पतिको शव शिक्षण अस्पतालको शव गृहको बाकस नम्बर ४ मा अझै पनि छ र कुनै दिन म उहाँको अन्त्येष्टि गर्न सक्छु भन्ने आशा छ । हाम्रो छोराको हत्या गर्ने पीडकलाई अभियोजन गरेर सजाय दिएको देखेपछि पतिको अन्त्येष्टि गर्ने मेरो आशा हो । त्यो दिन छिट्टै आउनेछ भनी आशा गर्छु ।
यतिका वर्षसम्ममलाई साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि उहाँहरूबाट सहयोगका लागि अनुरोध गर्छु ।
गंगामाया अधिकारी
६ असोज २०७८
वीर अस्पताल काठमाडौँ ।












प्रतिक्रिया