८ कार्तिक २०८३, आइतबार

एमालेले ५७ दिनको रेकर्ड तोड्छ : माओवादी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले एमाले ५७ दिनको संसद् अवरोधको रेकर्ड तोड्न लागिरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान अन्तर्वार्ताका क्रममा खनालले देशलाई संकट र अराजकतामा धकेलेर एमालेका अध्यक्ष केपी ओलीले सत्ता गुमेको छटपटी देखाइरहेको बताए । खनालले भने, ‘एमालेले विगतमा ५७ दिनसम्म संसद् अवरोध गरेको थियो, अहिले त्यसको रेकर्ड तोड्न खोजिरहेको छ ।’

‘एमालेको अवरोधका कारण देश आर्थिक संकटमा गयो’, माओवादी नेता खनालले भने, ‘बजेट होलिडेका कारण चाडबाडको मुखमा कर्मचारीले तलब खान नपाउने स्थिति बनेको छ ।’
उनले भने, ‘बजेटका विषयमा सबै दल सहमति आउनुपर्ने अवस्था छ ।’

नेता खनालले माओवादीले सरकारलाई अप्ठ्यारो नपारेको बताएका छन् । ‘यो संघर्षबाट आएको सरकार हो । सरकार नै हाम्रो हो, किन अप्ठ्यारोमा पार्ने ? किन असहयोग गर्ने ?’, उनले भने, ‘गठबन्धन दलहरूको आन्तरिक समस्याले ढिला भएको हो । अब छिटोभन्दा छिटो गर्नुपर्छ ।’

नेता खनालले सक्षम सरकार, सक्षम नेतृत्वको अभावका कारण भ्रष्टाचार बढिरहेको बताएका छन् ।

‘एउटा दल वा नेताका कारण भ्रष्टाचार बढेको होइन, संविधान, कानून र नीतिले भएको पनि होइन, हाम्रो संरचना नै त्यस्तै किसिमको छ’, उनले भनेका छन्, ‘केही धारा संशोधन नहुने होभने एमसीसी फिर्ता जानेछ ।’

माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोपका नेता खनालले खण्डन गरेका छन् ।

‘अहिले संकटको समाधान भनेकै प्रचण्ड जस्तो भएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मलेनले प्रचण्डको विकल्प खोज्दैन’, उनले भने, ‘प्रचण्डको विकल्प सोचेका छैनौं । विकल्प खोज्ने बेला पनि भएको छैन ।’