
काठमाडौँ, ३१ भदौ । नेकपा एमाले नेतृ तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी छन् ।
शाक्यले नेता नेपालले लिएको बाटो ठिक नभएको बताउँदै पार्टीमा फर्कन आग्रह गरेकी हुन् ।
बिहीबार काठमाडौँमा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले भन्नि, ‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’
उनले एमाले विभाजनको कुराले आफूलाई पीडाबोध भएको बताएकी छन् ।
‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ ? भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौ भनेर खुसी भएँ’, शाक्यले भनिन् ।












प्रतिक्रिया