काठमाडौँ । नेकपा (एमाले) को बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा वर्तमान संयुक्त सरकारले अत्यन्तै सुस्त गतिमा काम गरेको भन्दै आलोचना भएको छ ।
एमाले केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा सरकारको सय दिनको कामको समीक्षा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सरकारले राजनीतिक नियुक्तिलगायतका काममा अत्यन्तै ढिला गरेको र समग्ररुपमा सय दिनको कामको अध्ययन गर्दा सरकारको गति अत्यन्तै सुस्त देखिएको बताउनुभएको एमाले प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
अध्यक्ष खनालले सरकार निर्माण गरेको सहमतिप्रति काँग्रेसले बेवास्ता गरको र बजेट निर्माण गर्ने बेलामा विकाससम्बन्धी मन्त्रालयमा काँग्रेसले एकलौटी तरिकाले काम गरेको आरोपसमेत लगाएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।
संयुक्त सरकार भएपनि काँग्रेसले एकलौटी ढंगले काम गर्न खोजेकाले काँग्रेससँग यस बारेमा छिट्टै छलफल गर्ने समेत अध्यक्ष खनालले बैठकमा बताउनुभएको नेता ज्ञवालीले बताउनुभयो ।
एमालेको आगामी नवौं राष्ट्रिय महाधिवेशनका लागि बैठकमा अध्यक्ष खनालले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै, बैठकमा उपनिर्वाचनलाई व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी र पार्टीको आगामी महाधिवेशनको तयारीका विषयमा समेत छलफल भएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक यही जेठ १८ गते बस्ने गरी सकिएको छ ।














प्रतिक्रिया