ओखलढुंगा, २७ चैत । ओखलढुंगामा सामाजिक संजाल फेसबुकबाट गाली गलौज गरी चरित्र हत्या गर्ने मूलखर्क २ का दिर्गबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
सामाजिक संजालमा उल्लेख गर्न नमिल्ने अपशब्द प्रयोग गरी आफ्नो फेसबुकबाट विभिन्न आरोप लगाउँदै पटक पटक गाली गलौज गरेको प्रमाण भेटेपछि मुद्दा चलाएको हो ।
ज्यामिरे उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता दिपक राजभण्डारी र बरभञ्ज्याँग प्राविका शिक्षिका सचना राजभण्डारीलाई विभिन्न व्यक्तिसँग जोडेर अपशब्द प्रयोग गरी गाली गरेकाले पीडितको उजुरीको आधारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
खत्रीले दुई पटक फेसबुकमा स्टाटसका रुपमा राजनीतिक दल, कर्मचारी संचारकर्मीहरुलाई समेत जोडेर अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न गम्भीर आरोप लगाएर गाली गलौज गरेको प्रमाणसहित राजभण्डारीले उजुरी प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
चरित्र हत्या हुने गरी अपशब्द प्रयोग गरी गाली गलौज गरेको प्रमाणसहितको उजरी आएकाले मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डमबरबहादुर विकले जानकारी दिनुभयो । ‘फेसबुकमा लेखिएका शब्द अक्ष्यम्य छन्, उजुरी आएपछि खत्री फरार छन्, प्रहरीले खोजीरहेको छ’ विकले भन्नुभयो ।
खत्रीले अशल शासन जिल्ला समन्वय समितिको अध्यक्ष हुँदा संस्थाको रकम व्यक्तिगत खातामा जम्मा गरेको, संस्थाका उपकरण व्यक्तिगत रुपमा प्रयोग गरेको लगायतका आरोप लागेका थिए । समितिले चैत १६ गते नै अध्यक्षबाट खत्रीलाई बर्खास्त गर्ने निर्णय समेत गरिसकेको छ ।















प्रतिक्रिया