– सुदीप अधिकारी
बर्दिया, २७ चैत । बर्दियालाई तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
यसका लागि जिल्लाका विभिन्न गाविस र नगर पालिकाका विभिन्न वडाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषण गर्ने कार्यलाई तिव्रता दिइएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बर्दियाका २२ वटै गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरी सकिएको छ ।
४ नगरपालिका मध्ये गुलरिया नगरपालिकाका केही वडा मात्र घोषण हुन बाँकी छन् । बर्दियामा २०६८ सालमा सरसफाई सम्वन्धि गुरु योजना तयार पारी जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्य प्रारम्भ गरिएको थियो । यसै क्रममा पदनाहा गाविसलाई जिल्लाको पहिलो खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।
पछिल्लो पटक यही चैतको तेस्रो साता धधवार गाविसलाई घोषणा गरियो । यो सँगै जिल्लाका २२ वटै गाविस खुला दिसामुक्त गाविस घोषणा भइ सकेका छन् ।
राजापुर, बासगढी, सानोश्री ताराताल र गुलरिया गरी चार नगरपालिका मध्ये गुलरिया नगरपालिकाका ४ वटा वडालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेको छ । यि वाँकी वडाहरुलाई पनि यही बैशाखको दोस्रो साता भित्रै घोषणा गर्ने तयारी भइरहेको स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।
गुरु योजना अनुसार सन् २०१५ को अन्तिम सम्ममा बर्दियालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको थियो । तर जिल्लामा अभियानले तिव्रता पाएका कारण लक्ष्य भन्दा ८ महिना अघि नै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनायो । नयाँ वर्षको सुरुवातसँगै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोणणा गरिने स्थानिय विकास अधिकारी सिग्देलले बताए ।
यस अघि मुलकमा २३ वटा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरि सकिएको छ । तर, तराईका २० जिल्ला मध्ये हालसम्म कुनै जिल्ला पनि खुला दिसामुक्त घोषणा भएको छैन । बैशाख महिना भित्रै बर्दियालाई घोषणा गर्न सके यो नै तराई क्षेत्रको पहिलो खुला दिसामुक्त जिल्ला हुने छ ।
स्थानियबासी, सरोकारवाला निकाय, विभिन्न संघसंस्था, उद्योगी व्यापारी, संचारकर्मीलगाएतको सक्रिय सहभागीता र सहयोगका कारण लक्ष्य अगावै जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषण गर्न सम्भव भएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख अर्जुनकुमार बमले बताए ।















प्रतिक्रिया