जुम्ला, २७ चैत । परम्परागत संस्कारबाट ठूलो पीडा खेपिरहेका महिला अर्थात् कर्णालीका बुहारीको जीवन सुरक्षार्थ गैरसरकारी संस्थाले यस क्षेत्रका सासू र ससुरालाई व्यवहार परिवर्तनको प्रशिक्षण दिन थालेका छन् ।
महिलाले गर्भवती तथा सुत्केरी भएको बेला पनि गह्रुङ्गो भारी बोक्नुपर्ने, पौष्टिक आहार खाना नपाउने, उचित स्याहारको कुनै व्यवस्था नहुने, गाईगोरु झँै छाउगोठ बस्नुपर्ने बाध्यताका कारण आमा र बच्चा दुवैको अकालमै मृत्यु हुने गरेको र सो अवस्थाको प्रमुख कारक नै सासू–सुसुरा र परम्परागत संस्कृति भएको किटान गर्दै जुम्लास्थित एक स्थानीय गैरसरकारी संस्था सामाजिक जागरण तथा विकास केन्द्र (एसएएडिए) नेपाल जुम्लाले उनीहरुलाई प्रशिक्षण दिन थालेको हो ।
यस प्रशिक्षणमा परिवारका पहिलो जिम्मेवार सदस्यहरुमा श्रीमान् र अन्य सबैले महिलाको गर्भावस्था, उनीहरुले पाउनुपर्ने स्याहार, खानुपर्ने पौष्टिक आहार र मातृ तथा शिशुको स्वास्थ्य अवस्था कसरी सुरक्षित राख्ने भन्नेबारेमा जानकारी दिइएको र सासू–ससुरालाई पनि गर्भावस्थामा आफ्नो बुहारीलाई चारपटक स्वास्थ्य संस्थामा जाँच गर्नुपर्ने, गोठमा बसाल्न नहुने, हरियो सागपाता, गेडागुडी, माछामासुजस्ता पोषिलो चिज उपलब्ध गराउनुपर्ने, समय–समयमा महिलाले आफ्नो बच्चालाई दूध खुवाउने समयको उचित प्रबन्ध मिलाउनेबारे अभिमुखीकरण गराइएको उक्त संस्थाका वरिष्ठ कार्यक्षेत्रमा खटिएका अनुगमनकर्ता लालप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सादा नेपाल जुम्लाले अहिले जिल्लाका १८ वटा गाविसका स्थानीय महिलाका श्रीमान्हरुलाई श्रीमतीसँग प्रत्यक्ष राखेर पहिलो चरण र दोस्रो चरणमा सासू–ससुरालाई सँगै राखेर उनीहरुको व्यवहार र दृष्टिकोण परिवर्तन गराउन उक्त कार्यक्रम गरेको कार्यक्षेत्रमा खटिएका अनुगमनकर्ता सप्तकन्या उपाध्यायले जानकारी दिनुभयो ।
वल्र्ड भिजन क्षेत्र विकास कार्यक्रम जुम्ला नेपालको सहयोग तथा सादा नेपालको साझेदारीमा मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनाअन्तर्गत सो कार्यक्रम गरिएको सादा नेपाल जुम्लाले जनाएको छ ।
कार्यक्रमले एकातिर घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्न सहयोग गरेको छ भने अर्कोतिर मातृ तथा शिशु दुवैको स्वास्थ्य सुरक्षामा टेवा पुगेको र आगामी दिनमा एउटा सभ्य तथा आदर्श समाज निर्माणमा ठूलो सघाउ पुग्ने वल्र्ड भिजन जुम्लाका एडिपी म्यानेजर मन्नुप्रसाद चौधरीले बताउनुभएको छ । रासस















प्रतिक्रिया