काठमाडौँ, २७ चैत । बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।
महाअभियान १०० हप्ता प्रवेश गरेको उपलक्ष्यमा शनिबार बिहान आयोजना गर्न लागिएको बाग्मती हातेमालो कार्यक्रममा जानका लागि मन्त्रालयको पहलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
महाअभियानका लागि उपत्यकाका १३ स्थानबाट बाग्मती नदीको आठ स्थानमा जान निःशुल्क बसको व्यवस्था गरिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
“नियमित रुपमा रुटमा चल्ने सवारी साधनलाई यथावत् राख्दै महाअभियानकै लागि ६६ वटा थप गाडी निःशुल्क सञ्चालन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यी बसले बिहान ५ः३० बजेदेखि ७ बजेसम्म सफाइमा जानेहरुलाई निःशुल्क यात्रा गराउनेछ ।”
निःशुल्क बस सेवाका लागि यात्रु जम्मा हुने स्थान कलङ्की, एकान्तकुना, सातदोबाटो, जाउलाखेल, लगनखेल, रत्नपार्क, स्वयम्भू, बालाजु, गोङ्गबु, नारायणगोपाल चोक, सूर्यविनायक, दुवाकोट र साँखु तोकिएको छ । यी बसमा बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रम लेखिएको ब्यानरसमेत राखिनेभएको छ ।
तोकिएका १३ स्थानबाट सफाइ महाअभियानका सहभागी लिएर हिँडेका बस बाग्मती नदी किनारका बल्खु, टेकु, त्रिपुरेश्वर÷थापाथली, शान्तिनगर पुल, सिनामङ्गल÷तिलगङ्गा, गौरीघाट÷नारायणटार, अत्तरखेल/गोकर्ण र सुन्दरीजल गरी आठ स्थानमा लगिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दीनेश भण्डारीले बताउनुभयो ।
उपत्यकाका विभिन्न स्थानबाट बल्खु किनारमा नौ बस, टेकु किनारमा १२ बस, त्रिपुरेश्वर÷थापाथली किनारमा नौ बस, शान्तिनगर पुलमा आठ बस, सिनामङ्गल÷तिलगङ्गा किनारमा आठ बस, गौरीघाट/नारायणटारमा आठ बस, अत्तरखेल/गोकर्णमा आठ बस र सुुन्दरीजल नदी किनारमा चार बस पुग्ने महासङ्घका बाग्मती संयोजक एवम् बस व्यवस्था समितिका संयोजक धर्म रिमालले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया