१७ कार्तिक २०८३, मंगलबार

उपचार गर्न यात्रा गरिरहेकी आमाको निधनपछि साढे २ वर्षे छोरो काखमा राखिएको त्याे भावुक दृश्य

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । उपचारका लागि बसमा यात्रा गरिरहेकी आमाको निधन भएपछि ३२ महिनाको छोरालाई आमाकै काखमा राखेर फकाउन खोजिएको भावुक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ बटला (सुन्दरपानी) बाट नेपालगञ्ज २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी थिइन् ।

आफूहरु बसमा चढेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै धर्माकुमारीले श्रीमान दलबहादुरलाई जानकारी गराउँदै थिइन् ।

बीच बाटोमा धर्माकुमारीले दुई तीन पटक वान्ता गरेकी थिइन् । बसका यात्रुहरुका अनुसार त्यसपछि उनी सामान्य तवरले यात्रा गरिरहेकी थिइन् ।

केही समयपछि बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला सिटबाट तल खसेर रोएको यात्रुले देखे ।

अन्य यात्रुहरुले धर्माकुमारीलाई उठाउन खोजे । तर उनी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन् ।

मुटुकाे बिरामी रहेकी धर्माकुमारीको त्यो अवस्थाले बसमा यात्रारत सबै यात्रुहरु दुःखी र निराश बने । कतिले नजिकैको अस्पताल लैजान भने तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे ।

उनकै गाउँकै अर्की एक महिलाले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।

रोइरहेको बच्चालाई बसका यात्रुहरुले पालैपालो समातेर फकाउने काेशिश गरे ।

उता नेपालगञ्जमा शुक्रबार बिहान श्रीमतीलाई सकुशल स्वागत गर्न प्रतिक्षा गरिरहेका श्रीमान दलबहादुर श्रीमतीको त्यो खबर सुन्दा छाँगाबाट खसेझैँ भए ।

तर नियतिकाे खेललाइ स्वीकार्दै दलबहादुर विहान पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे ।

रोइरहेको छोरा बुवा देखेर अलि शान्त बन्यो । त्यसपछि अझै आश राख्दै दलबहादुरले स्थानीय नर्सिङ होमका स्टाफलाई बोलाएर श्रीमतीको चेक गराए । तर सम्भावना नभएपछि नेपालगञ्ज भेरी अस्पताल पुर्याए ।

दलबहादुरले निधन भइसके पनि श्रीमतीलाई आइसीयूमा राखेर माइती पक्षलाई पर्खिए ।

उता आमाको बसमै मृत्युपछि छोरा किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको भावुक फोटो सयौँ प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको छ ।

यो तस्वीर बसमा यात्रारत कुनै यात्रुले खिचेका हुन् ।