
काठमाडौँ, १ भदौ । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्दै बिनासर्त फिर्ता लिनुपर्ने माग गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर बहादुर देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ ।’
त्यस्तै, उनले एमालेका दुवै नेताहरुले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
मातृ शोकमा रहेका भट्टराईले लेखेका छन्, ‘आमाको दुःखद् निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगीन दिनमा यति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।’
सरकार टिकाउन शेरबहादुर नेतृत्वको सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउने भएपछि चौतर्फि विरोध सुरु भएको छ ।












प्रतिक्रिया