लण्डन, २७ साउन । चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ ।
सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए ।
यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ । चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ ।
आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन् ।
बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ– ‘जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको सजाय तोकेको छ।’
विज्ञप्तिमा स्पाभोरलाई कहिले देशनिकाला गरिन्छ भनेर तोकिएको छैन । सामान्य रूपमा चीनले विदेशीलाई जेल सजाय पूरा गरेपछि मात्रै देशनिकाला गर्छ ।
चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले बुधवार फैसलाको भर्त्सना गरेका छन् । ‘पुनरावेदनमा जाने मौका छ’, उनले अदालतबाहिर भनेको एएफपीले बताएको छ । क्यानडामा मङ गिरफ्तार भएको केही दिनपछि सन् २०१८ मा स्पाभोरलाई जासुसीको आरोपमा गिरफ्तार गरिएको थियो ।
मार्चमा भएको पहिलो सुनुवाइमा कुनै फैसला भएन । सो समयमा क्यानडाका कूटनीतिज्ञहरूलाई समेत अदालतमा प्रवेश दिइएको थिए । स्पाभोर उत्तर कोरियासँग अन्तर्राष्ट्रिय व्यापार र सांस्कृतिक सम्बन्धका लागि सहयोग गर्ने पेक्टू कल्चरल एक्स्चेन्जका संस्थापक सदस्य हुन् । बीबीसी















प्रतिक्रिया