
काठमाडौं, २६ साउन । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २२९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१ हजार ७४० जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजनाना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २४९ जनालाई २४ हजार ९०० रुपैयाँ जरीवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १० हजार ८२२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीको भनाइ छ ।
साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २५० वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३८ हजार ९७३ जनालाई सचेत गराइएको जनाइएको छ ।















प्रतिक्रिया