८ कार्तिक २०८३, आइतबार

नमूना सामुदायिक अस्पतालले एम्बुलेन्स नदिएपछि वडाध्यक्ष श्रेष्ठले गरे यस्तो हर्कत !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २६ साउन । जिल्लाको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठले स्थानीय नमूना सामुदायिक अस्पतालको एम्बुलेन्स आफैंले जबरजस्ती हाँकेका छन् ।

अस्पतालले एम्बुलेन्स दिन नमिल्ने भन्दाभन्दै पनि उनले जबरजस्ती चाबी लिएर एम्बुलेन्स हाँकेका हुन् । तर, उनले जबरजस्ती एम्बुलेन्स हाँक्नुको कारण भने अलि भिन्न र भावानात्मक छ ।

सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालको आइसोलेशनमा बसेका अन्दाजी ४५–४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । मृतकका आफन्तले घाटसम्म शव बोकेर लैजाने कुनै साधन तत्काल भेटेनन् । समस्यामा परेका मृतकका आफन्तले अस्पतालकै एम्बुलेन्समार्फत घाटसम्म शव पुर्याइदिन आग्रह गरे ।

तर, अस्पतालले एम्बुलेन्सचालक बिरामी भएको जनाउ दिँदै उनीहरुको प्रस्ताव अस्वीकार गर्यो । त्यसपछि स्थानीयले अर्को चालक खोजेर ल्याए । अर्को चालक ल्याएपछि अस्पतालले अरुको हातमा एम्बुलेन्स दिन नमिल्ने जिकिर गर्यो ।

केही गर्दा पनि मृतकको शव घाटसम्म पुर्याउने उपाय नभेटेका स्थानीयले आफ्ना जनप्रतिनिधि सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठलाई वृतान्त सुनाए । शोकमग्न ती आफन्तका कुरा सुनेपछि वडाध्यक्ष श्रेष्ठ तत्काल घटनास्थल नमूना सामुदायिक अस्पताल हाजिर भए र समस्या समाधानका लागि मध्यस्थता गर्न थाले ।

वडाध्यक्ष श्रेष्ठले अनुरोध गर्दा पनि अस्पतालले शोकाकुल परिवारको समस्या सुन्न तयार भएन । वडाध्यक्ष श्रेष्ठले आफैं चलाएर शवलाई घाटमा पुर्याएर गाडी ल्याईदिन्छु भन्दा पनि अस्पतालले अस्वीर गर्यो ।

त्यसपछि केही आक्रोशित बनेका वडाध्यक्ष श्रेष्ठले जबरजस्ती चाबी लिएर आफैंले एम्बुलेन्स हाँकेर शवलाई घाटसम्म पुर्याइदिए । उनी आफैंले शवलाई घाटसम्म पुर्याए पनि शवलाई एम्बुलेन्समा राख्ने र अन्तिम संस्कार गर्ने काम भने नेपाली सेनाले गरेको मृतकका आफन्तले बताएका छन् ।

एम्बुलेन्स चालक बिरामी भएकाले एम्बुलेन्स नदिएको र अस्पताल प्रशासनले अरूलाई चाबी नदिएको अस्पतालले स्वीकार गरेको छ । जोकोहीलाई पनि चाबी दिन नमिल्ने भएपछि वडाध्यक्ष आएर चाबी मागेर आफैंले चलाई शवलाई अन्तिम संस्कारका लागि लगेको र एम्बुलेन्स फिर्ता दिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।