
काठमाडौं, २५ साउन । नेपाल प्रहरीले कोरोना भाइरसको संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्ने उद्देश्यका साथ २२ हजार ७६२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा सो परिमाणमा मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ६० हजार ५११ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।















प्रतिक्रिया