कान्दाहार, २५ साउन । तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ ।
अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो । उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ ।
तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले सार(ए(पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ ।
तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ । त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ ।
२० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको हो । तालिबानले पछिल्ला साताहरूमा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ ।
देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ । उत्तरी क्षेत्रका तीनवटा मुख्य सहरहरू आइतवार केही घण्टाको बीचमै तालिबानको नियन्त्रणमा गएका थिए । कुन्दुजका एकजना बासिन्दाका अनुसार अवस्था एकदमै अस्तव्यस्त देखिएको छ ।
अफगान सरकारले चाहिँ तालिबानको नियन्त्रणमा गएका क्षेत्रहरूलाई पुनः फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको जनाएको छ ।
पश्चिमी सहर हेरात र दक्षिणी सहरहरू कान्दाहार तथा लश्कर गाहमा पनि तीव्र लडाइँ भइरहेका खबरहरू आएका छन् । यस वर्ष अफगानिस्तानबाट हजारौँ नागरिकहरू विस्थापित भएका छन् । बीबीसी















प्रतिक्रिया