
काठमाडौं, २४ साउन । सिन्धुपाल्चोकको लिदी पहिरोबाट बिस्थापित भएकाहरूका लागि अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।
जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा २०७७ साउन ३० गते गएको पहिरोका कारण विस्थापित भएका परिवारहरुका लागि नेपाली सेनाले सोही गाउँपालिका–१, बासखर्कमा ३१ वटा अस्थायी आवास भवन, ७ वटा शौचालय, बाथरुम, क्यान्टिन र हेल्थ पोष्ट १÷१ वटा निर्माण सम्पन्न गरी आज आइतबार हस्तान्तरण गरिएको हो ।
श्री नं. २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउतद्वारा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु लगायत पत्रकारहरुको समेत उपस्थिति थियो ।
उक्त पहिरोमा परी ३९ जनाको मृत्यु भएको र २८ घर परिवारहरु पुर्णरुपमा विस्थापित भएका थिए । विस्थापित भएकाहरुलाई पहिलो चरणमा आवास उपलब्ध गराउने र जोखिममा रहेका अन्यलाई क्रमशः अस्थायी घरहरु बनाउने योजना अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नेपाली सेनासँग सहयोगका लागि लिखित अनुरोध गरिएको थियो ।
















प्रतिक्रिया