८ कार्तिक २०८३, आइतबार

कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरू हुने सङ्केत देखियो : प्रधानमन्त्री देउवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसको तेस्रो लहर छिट्टै शुरू हुने सङ्केत देखिएको बताएका छन् ।

कोरोना महामारीको सम्भावित जोखिमबाट जोगिन सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी सचेत रहन उनले आम नागरिकमा अपिल समेत गरेका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोरोनाबाट जोगिन सरकारको प्रयासले मात्रै सम्भव नभएकाले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई अपिल गरेका हुन् ।

‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्र यो महामारीलाई पार लगाउन सकिन्छ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘त्यसैले म यहाँहरुसँग आग्रह गर्दछु । अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं, बाहिर निस्कनुअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं, बेला बेलामा साबुनपानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौँ ।’

प्रधानमन्त्री देउवाले खोप लगाउने काम चलिरहेको र सबैको साझा प्रयासमा कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन् । सबै राजनीतिक दल र निजी क्षेत्रलाई भीडभाड हुने काम नगर्न पनि प्रधानमन्त्रीले अपिल गरेका छन् ।

अत्यन्त आवश्यक परेका बेला मात्रै घरबाहिर निस्कन र घरबाहिर निस्कँदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ । सबैको साझा प्रयासले छिट्टै महामारी नियन्त्रणमा सफल हुनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन् ।