लण्डन, २२ साउन । अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ।
बिहीवार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएका छन्।
सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुन: लगाएपछि दुई देशबीच तनाव बढेको थियो।
इब्राहिम रइसीले इरानको राष्ट्रपतिका रूपमा बिहीवार शपथग्रहण गरेका छन्। तेहरानमा शपथग्रहण समारोहमा बोल्दै उनले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने “कुनै पनि कूटनीतिक योजना”लाई आफूले समर्थन गर्ने बताए।
“अमेरिकाद्वारा इरानी राज्यमाथि लगाइएका सबै अवैध प्रतिबन्धहरू हट्नै पर्नेछ,” उनले भने। पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउँछन् तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। बीबीसी















प्रतिक्रिया