८ कार्तिक २०८३, आइतबार

किन छिनछिनमै बोली फेर्दैछिन् बिमला ?

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभाकी सदस्य बिमला ओली अहिले सञ्चारमाध्यममा ‘हटकेक’ को रुपमा चर्चित छिन् ।

उनी चर्चित हुनका कारण भने कुनै खास र राम्रो काम गरेरचाहिँ होइन । नाम होस् या बदनाम जेसुकै गरेर भए पनि पद र प्रतिष्ठा प्राप्त गर्ने लक्ष्यअनुरुप अगाडि बढेकी उनी अहिले चर्चाको शिखरमा पुगेकी हुन् ।

राजनीतिक रुपमा आफ्नो स्वार्थअनुकुल बारम्बार बोली फेर्नु र भनेअनुसारको पद नपाउँदा राजनीतिक पार्टीहरूलाई गम्भीर आरोप लगाएर भए पनि उनी चर्चामा आउने गरेकी छिन् । पछिल्लोपटक आज मात्रै लुम्बिनीका मुख्यमन्त्री तथा लुम्बिनी एमालेलाई विभिन्न आरोप लगाएर उनी थप चर्चाको पात्र बनेकी छिन् ।

तर, उनको आफ्नो राजनीतिक शैलीले आफैंलाई पूर्णतः अविश्वास र घात गरिरहेकोप्रति भने उनी कत्ति पनि सचेत नभएको घटनाक्रमहरूले देखाइरहेको छ । तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’मार्फत दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित बिमला नेकपाको एकता बदरसँगै लामो समयसम्म नेकपा एमालेमा रहिन् । त्यसपछि एमालेको संसदीय दलमा आफूले गरेको हस्ताक्षर लत्याउँदै नेकपा माओवादीमा लागेकी थिइन् ।

तर, त्यसयता उनले कहिले एमालेमा प्रवेश गरेको त कहिले नेकपा माओवादीमै फर्किएकोजस्ता विज्ञप्तिहरू बारम्बार जारी गरेर पार्टी फेरबदल गरिरहेकी छिन् । त्यसैको पछिल्लो श्रृङ्खलास्वरुप उनले आज आफू पुनः आमोवादी केन्द्रमै रहेको स्टेटमेन्ट जारी गरेकी छिन् । जुन स्टेटमेन्ट आउनु तीन दिनअघि उनी आफैले हस्ताक्षर गरेर आफू नेकपा एमालेमा रहेको बताएकी थिइन् ।

त्यसको तीन दिन पनि बित्न नपाउँदै उनले आज बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमालेले ‘अपहरण’ गरेर ‘बन्धक’ बनाएको आरोप लगाउँदै भागेर ‘बन्धकमुक्त’ भएको बताएकी छिन् ।

तर, उनको त्यो स्टेटमेन्टको नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले तत्काल खण्डन गरेका छन् । उनले विगत ५ दिनयता जेजति गतिविधि भएका छन् ती सबै बिमला ओलीको सहमतिमै भएको दाबी गरेका छन् । उनकै सहमतिमा दाङबाट बुटवल ल्याएर आफूहरूले मुख्यमन्त्री शंकर पोखरेललाई भेटाइदिएको ढकालको दाबी छ ।

दाङबाट आफूहरुले उनलाई बुटवल ल्याएको स्वीकार गर्दै ढकालले अपहरण वा बन्धक नबनाएको जिकिर गरेका छन् । सांसद ओली मात्र नभइ दाङबाट बुटवल आउँदा उनका परिवार र आफन्तहरूसमेत बुटवल आएकाले उनको सम्पूर्ण आरोप झूट र राजनीतिक ‘स्टन्ट’ भएको ढकालको दाबी छ ।

आफूहरूमाथि लागेको सम्पूर्ण आरोपको खण्डन गर्न आफूहरुले बिमलाका आफन्त तथा परिवारसहित पत्रकार सम्मेलन गर्ने प्रयासमा रहेको प्रतिक्रिया उनले दिएका छन् ।

२०७५ सालको माघ २४ गते दाङको घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका सांसद उत्तर कुमार ओलीको उपचारकै क्रममा फागुन १० गते काठमाडौंको मेडसिटी अस्पतालमा निधन भएको थियो । उनको निधनपछि रिक्त प्रदेशसभा सदस्यका लागि उनकी धर्मपत्नी बिमला ओली उम्मेदवार बनेकी थिइन् ।

नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको बलमा निर्वाचन जितेकी उनी अहिले कहिले कुन पार्टी त कहिले कुन पार्टी भन्दै बोली फेर्दै आएकी छिन् । यसले उनी पद कता पाइन्छ त्यतै लागिहाल्ने सांसदको रुपमा समेत चित्रित हुन थालेकी छिन् ।

संघीय सत्तासँगै लुम्बिनीको सत्ता समेत कांग्रेस–माओवादीको गठबन्धनले हडप्ने भएपछि उनी पुनः माओवादी फर्किएको विश्लेषण गरिएको छ ।