काबुल, २० साउन । अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ ।
आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएको बीबीसीले जनाएको छ ।
बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए ।
साथसाथै उनीहरूले गोली पनि चलाएका थिए । रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरियो । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन् ।
मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो ।
सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन् ।
इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ ।















प्रतिक्रिया