सोलुखुम्बु । गतवर्ष माघ १० गते चौँरीखर्क, फाक्दिङका होटल व्यवसायी ग्याल्जेन नुरु शेर्पालाई गोली हानी हत्या गर्ने तीन जनालाई आज अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको छ ।
जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले हत्यामा संलग्न तीन जना अनिल राई, शरणकुमार राई र निमा देण्डीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
उनीहरूलाई प्रहरीले गत माघ २२ गते विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखेको थियो ।
यस्तै उनीहरूलाई अपहरण तथा शरीर बन्धक उद्योगसम्बन्धी मुद्दामा थप सजाय पनि सुनाइएको छ । व्यवसायीको हत्या गरेपछि आफन्तलाई फोनमार्फत धम्की दिँदै उनीहरूले रकम माग गरेका थिए ।
उनीहरूलाई अपहरण तथा शरीर बन्धक उद्योगअन्तर्गत अनिल राईलाई साढे तीन वर्ष कैद र रु ५० हजार जरिवाना तथा शरणकुमार राई र निमा देण्डी शेर्पालाई डेढ वर्ष कैद र रु २५ हजार जरिवाना तोकेको छ ।
यस्तै उनीहरू माथि लागेको हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको भने फैसला हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक वद्रीविक्रम थापाले जानकारी दिनुभयो ।













प्रतिक्रिया