३ कार्तिक २०८३, मंगलबार

धनुष अब ‘द ग्रे म्यान’मा खेल्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दक्षिण भारतीय अभिनेता धनुषको चर्चा बलिउडदेखि हलिउडसम्म फैलिएको छ । ‘ह्वाइ दिस कोलाभेरी डी’ र ‘राउडी बेबी’ जस्ता भाइरल म्यूजिक भिडियोबाट पटकपटक ट्रेन्डिङमा आएका उनी अब नयाँ हलिउड फिल्म ‘द ग्रे म्यान’मा पनि देखिने भएका छन् ।

द रुस्सो ब्रदर्सको निर्देशनमा बन्न लागेको फिल्म ‘द ग्रे म्यान’मा हलिउड अभिनेता क्रिस इभान, रायन गोस्लिङ र धनुषको मुख्य भूमिका छ । यो फिल्मबाट धनुष हलिउड फिल्ममा अभिनय गर्ने पहिलो तामिल अभिनेता बनेका छन् । हलिउड फिल्ममा अभिनय गरेर तामिल फिल्म क्षेत्रमा नयाँ रेकर्ड बनाएका धनुषले सामाजिक सञ्जालमा पनि इतिहास रचेका छन् ।

इन्डिया ग्लिट्ज अनुसार हालै धनुष ट्विटरमा एक करोड फलोअर्स पुग्ने पहिलो तामिल अभिनेता बनेका छन् । यसअघि कुनै पनि तामिल अभिनेताको ट्विटरमा एक करोड फलोअर्स् पुगेको थिएन ।

धनुषपछि धेरै फलोअर्स हुने तामिल अभिनेतामा कमल हासन र सूर्या छन् । उनीहरू दुवैको करिब ६८ लाख फलोअर्स् छन्, जुन धनुषको तुलानामा निकै कम हो । तेस्रो स्थानमा सुपरस्टार रजनीकान्त परेका छन् । उनको ट्विटरमा जम्मा ५९ लाख फलोअर्स छन् ।

आफ्नै ससुरा रजनीकान्तलाई पछि पारेको कारण अहिले धनुषको नाम ट्विटरको ट्रेन्डिङमा समेत आएको छ । यसले धनुषले फिल्म क्षेत्रबाहेक सामाजिक सञ्जालमा पनि प्रभाव पार्न सकेको देखिएको छ ।

हाल धनुष नयाँ फिल्म ‘डी ४३’को सुटिङको तयारीमा छन् । उनको नयाँ प्रोजेक्टमा अक्षय कुमार र सारा अली खानको अभिनय हुने फिल्म ‘अतरंगी रे’ पनि रहेको छ । एजेन्सी