८ कार्तिक २०८३, आइतबार

अराजनीतिक र अनैतिक काम गर्ने कोही पनि एमालेमा रहन सक्दैन : महासचिव पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको आवरण भिरेर पार्टी हितविपरीत अराजनीतिक र अनैतिक काम गर्ने कोही पनि व्यक्ति एमालेमा रहन नसक्ने स्पष्ट पारेका छन् ।

पार्टीको निर्णयविपरीत गएर विपक्षी गठबन्धनका प्रतिनिधिलाई विश्वासको मत दिनु अराजनीतिक र अनैतिक काम भएको उनको भनाइ छ । ‘एमालेका सांसदहरूले हिजो आइतबार संसद बैठकमा जुन गतिविधि गर्नु भएको छ, त्यो अराजनीतिक, अनैतिक काम हो,’ उनले भनेका छन्, ‘त्यसकारण त्यो कामका कारणले उहाँहरू फेरि यही पार्टी कमिटीमा रहने कुरा म देख्दिनँ ।’

आइतबार संसदमा भएको घटनाका कारण पार्टी एकीकरणका लागि भइरहेका प्रयासमा समेत तत्कालका लागि ब्रेक लागेको पोखरेलको बुझाई छ । उनले भने, ‘तर पनि यो एकता प्रक्रियाका लागि अत्यन्त चिन्ताका साथ सहभागी रहेका साथीहरूसँग फेरि पनि छलफल जारी रहन्छ र पार्टीभित्रका आन्तरिक समस्या व्यवस्थित गर्ने मामिलामा हाम्रो प्रयत्न जारी रहन्छ ।’

यद्यपि उनले देउवाको पक्षमा विश्वासको मत दिने व्यक्तिहरू पार्टीमा नरहनेमा जोड दिएका छन् । देउवालाई विश्वासको दिएर नेताहरूले अक्षम्य अपराध गरेको उनको भनाइ छ ।