८ कार्तिक २०८३, आइतबार

एमालेमा सहमति जुटाउन फरि जुटे दोस्रो तहका नेताहरू, योगेश र भीम आचार्यहरू पनि थपिए

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा एमालेभित्रको आन्तरिक एकताका लागि दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका छन् ।

विघटित कार्यदलका अधिकांश सदस्य तथा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्यलगायतका नेताहरू एकताका लागि पुनः छलफलमा जुटेका हुन् । उनीहरू अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफलमा जुटिरहेका छन् ।

विघटित कार्यदलमा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल थिए भने असन्तुष्ट पक्ष वरिष्ठ नेता माधव नेपाल समूहका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट थिए ।

तर, आजको छलफलमा नेतात्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्यहरू पनि थपिएका छन् । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो । त्यसको भोलिपल्ट आज उनीहरू पुनः छलफलमा जुटेका हुन् ।

शुक्रबारको स्थायी कमिटी र संसदीय दलको बैठक रोक्न नेपाल पक्षका नेताहरूले बैठकमै पुगेर पार्टी अध्यक्ष ओलीलाई आग्रह गरे पनि ओलीले सो प्रस्ताव अस्वीकार गरेर बैठकलाई निरन्तरता दिएका थिए ।

त्यसपछि एमालेमा अब एकता नहुने आँकलन भइरहेका बेला नेताहरु छलफलमा जुटेका हुन् । यसले अझै एमालेको आन्तरिक एकता सम्भव छ भन्ने सन्देश दिएको छ ।