महोत्तरी, १२ असार । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–६ कनवास्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही जिल्लाको सम्सी गाउँपालिका ६ बस्ने ३६ वर्षीय शेष समसुदिन, सोही गाउँपालिका ७ बस्ने ३४ वर्षीय ममसमी नदाफ, २५ वर्षीय तिलक लामा र ४३ वर्षीय राम परियार रहेका छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा डाईजेल्याव ८० वटा, नोफिन १ सय ६० वटा र डाईलेक्स डिसी १ बोतल फेला परेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवास्थित सीमा ईलाकाबाट असार ११ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही महानगरपालिका १ बस्ने २२ वर्षिय अवदेश कुमार दासलाई पक्राउ गरेको छ ।
प्रदेश १–०२–०४३ व २८०३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेल्याव २४ वटा, एभिल २५ वटा, लुपिजेसिक २५ वटा, मोवाईल १ थान र १७ हजार ९ सय ३० नेपाली रुपियाँ फेला परेको हो ।
सशस्त्र प्रहरीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।











प्रतिक्रिया