३० आश्विन २०८३, शुक्रबार

मह उत्पादनबाट राम्रो आम्दानी लिँदै किसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maha-productइलाम, २४ चैत । इलामका किसान मौरीपालन व्यवसायबाट राम्रो आम्दानी लिन थालेका छन् ।

आधुनिक घारको विकाससँगै इलामको जिर्मलेका किसानले मौरीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानिय कुमार मोक्तानले पुराना घार विस्थापित गरी आधुनिक घारमा मह उत्पादन गर्दै आएका छन् । “एक मौसमा सात÷आठ किलोसम्म मह उत्पादन हुन्छ” उहाँले भन्नुभयो ।

सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा किसानले तालिम समेत लिन थालेका छन् । अहिले आधुनिक घारको माध्यमबाट जीर्मलेका किसानले मौरीपालनबाट घरमै बसीबसी आम्दानी लिँदै आएका छन् ।

“गाउँमै प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री हुने गरेको छ” स्थानिय यम अधिकारीले भन्नुभयो । झापाका बजारमा लैजाँदा प्रतिकिलो रु एक हजारसम्म बिक्री हुने गरेको अधिकारीको भनाइ छ ।

यहाँका ग्रामीण भेगमा उत्पादन हुने मह कोसेलीको रुपमा बिक्री हुन थालेको गोविन्द राईले बताउनुभयो । महको मूल्य राम्रो पाउनथालेपछि एउटै किसानले ५० देखि १०० घारसम्म मौरीपालन गर्दै आएको उहाँले बताउनुभयो ।

मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गोदावरी मौरी स्रोतकेन्द्र र गैरसरकारी संस्थाले किसानलाई तालिम प्रदान गर्दै आएका छन् ।

तालिमप्राप्त किसानले आधुनिक घारबाट एक मौसममा ३०० किलोसम्म मह उत्पादन गर्दै आएका छन् । श्रम कम हुने र आम्दानी राम्रो हुने भएकाले अहिले किसानको मौरीपालनमा आकर्षण बढेको हो ।

“मह जति उत्पादन हुन्छ त्यति नै बिक्री हुने र उत्पादन भएको मह घरमै बिक्री हुने गरेको छ” मोक्तानले बताउनुभयो । जिर्मले, समाल्बुङ, श्रीअन्तु, सिद्धिथुम्का, इलाम नगरपालिका, बरबोटे, माइपोखरी, सुम्बेकलगायतका गाविसमा अहिले व्यावसायिक रुपमा आधुनिक घारबाट मौरीपालन गरिँदै आएको छ । रासस